Featured

Featured देश / राष्ट्रिय मनोरञ्जन समाचार

आज सिथि नखः पर्व, नेवार समुदायको औपचारिक रोपाइँ सुरु

१५ जेठ  : वर्षा ऋतुको शुरुवातसँगै नेवार समुदायले आज सिथी नखः पर्व मनाउँदैछन् । विभिन्न मौसम र ऋतु परिवर्तनसँगै मनाइने पर्वहरुमध्ये यो पर्वलाई पनि निकै नै महत्पूर्ण पर्वका रुपमा लिइन्छ ।

ऋतु परिवर्तनसँगै विभिन्न खाले जात्रा पर्वहरु मनाउँदै आइरहेका नेवार समुदायले यसपटक विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण क्षमा पुजा गरी जात्रा पर्वलाई रोक्नु परेको  छ ।

गृष्म ऋतुको अन्त्य र वर्षा ऋतुको आगमनसँगै आज बिहीबार सिथी नखः पर्व मनाइँदैछ । यसदिन महादेव पुत्र कुमारको पनि जन्म भएका कारण यस पर्वलाई कुमार षष्ठी पनि भनिन्छ । यसबेला भक्तजनहरुले क्षेत्रपालको रुपमा कुमारको पुजा गर्दछन् । सिथी नखः पर्वमा विभिन्न कुल देवीदेवताहरुको पनि पुजाआजा गरिन्छ ।

नेवार समुदायमा मौसम अनुसारको परिकार बनाएर खाने प्रचलन छ । गर्मी मौसमलाई ध्यान दिइ सिथी नखः पर्वमा सजिलै पचाउन सकिने र स्वास्थ्यलाई फाइदा पुर्‍याउने परिकारको रुपमा बारा बनाएर खाने र खुवाउने चलन छ । त्यसैले पनि यस पर्वलाई बारा खाने र खुवाउने पर्वका रुपमा लिइन्छ । मुंग, मासलाई पिसेर विभिन्न स्वाद अनुसार बनाइएको एक प्रकारको रोटी नै बारा हो । वर्षा ऋतु शुरु हुने भएकाले यसबेला ढुंगेधारा, इनार, कुवा जस्ता पानीका स्रोतहरु सरसफाइ गर्ने चलन समेत रहेको छ । साथै आज बाट यो समुदायको औपचारिक रोपाइँ सुरुवात भएको पनि मानिन्छ ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment