Featured खेल कुद

खेलाडि देखि रेफ्री सम्म !! दोलखाली चेली, राष्ट्रिय रेफ्री राधिका शाक्यको अन्तरकथा !!!

बुवा रामकृष्ण शाक्य र आमा लक्ष्मी शाक्यको माहिली छोरीको रुपमा बि.सं. २०४८ माघ १ गते दोलखाको जिरीमा राधिका शाक्यको जन्म भएको थियो । पुर्खौली घर धादिङ भएता पनि बुवा नेपाल खाद्य संस्थान, दोलखामा कार्यरत कर्मचारी भएका कारण उनिहरुको बसोबास लामो समयदेखि जिरीमा नै थियो । आमाले पनि लिङ्कन बजारमा सानो होटल व्यवसायमा संचालन गरेकी थिईन । सानैदेखि लगनसिल र मेहेनती राधिका पढाई सङ्सङै आमालाई होटलको काममा सघाउने गर्थिन । कक्षा ८ सम्म बजार कै ढुंगेश्वरी निम्न माध्यामिक विध्यालय र माध्यामिक तहको पढाई जिरी उच्च माध्यमिक विध्यालयबाट पुरा गरिन । त्यहाँ उनले स्कुलमा भली बल खेल्ने माहोल सिर्जना भयो र उनि भलिबल हुँदै खेल जगतमा कदम राख्न सुरु गरिन र विध्यालय हुँदै अन्तर विध्यालय भली बल प्रतियोता समेत खेल्न थालिन । विद्यालय तहदेखि नै खेलकुदमा चासो राख्ने उनको भलिबल पहिलो रोजाई बन्यो । त्यसो त अझैपनि गाँउघरमा प्राय भलिबल नै धेरै खेलिने खेल हो । भलिबल बाट खेलको सुरुवात गरेकी राधिकालाइ यतिबेला सम्म फुटबलको बिषयमा न त कुनै ज्ञान थियो न त चासो नै । १३ वर्षको सानै उमेरमा २०६१ सालमा जिरी मा.वि. बाट एस.एल.सी. उत्तीर्ण गरिन ।

बुबाको रिटायर पश्चात २०६२ सालमा उनिहरुको स–परिवार परिवार जिरीबाट काठमाण्डौ बसाई स¥यो र चावहिलमा पुनः होटल व्यवसाय सुरु गरे । उनको फुटबल यात्रा तव सुरुभयो जव उनि कलेज पढ्न थालिन । पशुपति क्याम्पसमा पढ्दा नजिकै रहेको सानो गौचरणमा उनि कान्छी बहिनी साथै कलेजका साथिहरुसंग फुटबल खेल्न थालिन । फुटबलमा उनको रुचि एवं क्षमता निकै बढ्दै गयो । एकदिन राधिका सानो गौचरणमा आफ्नो साथीहरुसंग खेलिरहेकी थिईन । त्यसै बेला नेपालका पुर्व राष्ट्रिय खेलाडी कुमार थापाले उनको खेल कौशल देखेर प्रभावित भए । अझ थप प्रशिक्षण दिन सकेमा राम्रो फुटबल खेलाडी बनाउन सकिने उनमा विचार आयो । पुर्व राष्ट्रिय खेलाडी पुर्व थापाले त्यति बेला काठमाण्डौ फूटबल एकेडेमी पनि खोलेका थिए । सोही एकेडेमीमा राधिकाले पनि कुमार थापा संग प्रशिक्षण लिने मौका पाईन । करिव १ वर्षको छोटो समयमा नै उनको फुटबल क्यारीयरले ठुलो छलाङ मार्यो । २०६३ देखि २०६९ सम्म उनि महिला फुटबलमा काठमाण्डौ जिल्ला प्रतिनिधित्व गर्दै कप्तानको भुमिकामा रहिन । यस विचमा उनले एनसेल कप, जिल्ला लिग र अन्य धेरै राष्ट्रिय स्तरका खेलहरु समेत खेलिन् । २०७० सालमा उनले जनकपुरमा सम्पन्न जानकी गोल्ड कपमा सहिद स्मारक क्लवबाट पनि खेलिन जहाँ उनको टिम उपबिजेता पनि भएको थियो । फुटबलमा मात्र होईन उनको क्षमता रग्बीमा पनि उत्तिकै थियो । फुटबल र रग्बीलाई संगसंगै अगाडी बढाएकी राधिकाले नेपालको राष्ट्रिय टोलिमा रहेर चेन्नाइ र लाओसमा भएको एसियन खेल समेत खेलिन ।
खेलप्रति अत्यन्त रुची रहेकी राधिकाको लक्ष्य आर्मी बन्ने थियो । खेलकुदका कारण कलेजको पढाई विचैमा छोडेकी उनलाई आर्मीको जागिरको लागि पुर्व राष्ट्रिय खेलाडि बिराट जङ्ग शाहीले धेरै सहयोग गरेका थिए । तर उनको जन्म दर्ता र सर्टिफिकेटमा जन्म मिति नमिलेका कारण उनको आर्मी बन्ने सपनामा पुरा हुन सकेन । त्यसपछि उनले अब खेलकुदमा नै आफ्नो क्यारीयर बनाउने अठोट गरिन । उनको फुटबल खेलको उत्साह र लगन देखेर केहि अग्रज रेफ्रीहरु किसन यादव, राजेन्द्र खड्गी र प्रज्वल्ल क्षेत्री लगायतले उनलाई खेल खेलाउन संगै लिएर हिड्न थाले । जसबाट उनले रेफ्री सम्वन्धि विविध ज्ञान पनि हासिल गरिन । उनले अग्रज रेफ्रीहरुको यति बिश्वास जितिन कि उनिहरुले राधिकालाई स्कुल, कलेज लगायत अन्य क्लव स्तरीय खेलहरु समेत खेलाउने मौका पाईन ।
यसैपनि नेपाली समाजमा छोरीलाइ खुलारुपमा हिड्न अझैपनि सहज नभएको अवस्थाको सामाना उनले पनि गर्नु परेको थियो । घर भन्दा पनि छरछिमेकबाट पनि आलोचना खेप्नुपरेको उनको अनुभव छ । तर घरको माहोल भने केहि फरक रहेको उनको अनुभव साट्दै उनले भनिन ‘आमाले त मलाई खेल खेलाएर टन्न मेडल, मायाको चिनोहरु लिएर आउनु घरको भित्तामा सजाउनु पर्छ भन्नुहुन्थ्यो ।
एकदिन उनलाई पुर्व राष्ट्रिय खेलाडी बिराट जङ्ग शाहीले अब रेफ्री कोर्स गर्नु पर्छ भन्नुभयो । नेपालमा महिला रेफ्रीहरु पनि कम छ साथै सानो गौचरनबाट पनि महिला रेफ्री हुनुपर्छ भनेर उत्प्रेरित गरेपश्चात उनि निकै उत्साहित बनिन् । जसरी भएपनी रेफ्री कोर्स गर्ने र सानो गौचरणबाट पहिलो महिला रेफ्री बन्ने निर्णय लिइन । उनको यो अठोटमा साथ दिदै सानोगौचरनबाट नै उत्पादित राष्ट्रिय रेफ्रीहरु रोजेन्द्र खड्गी, प्रज्वल्ल क्षेत्री र किसन यादवले प्रशिक्षणमा भरपुर सहयोग गरे ।
बि.सं २०७२ सालमा एन्फाले खुलाएको रेफ्री कोर्स पुरा गरिन र परिक्षामा पास पनि भईन । एन्फाद्वारा संचालित विभिन्न खेलहरु खेलाउने क्रममा उनले आफू भन्दा सिनियर महिला रेफ्रीहरुबाट पनि धेरै कुराहरु सिकिन । उनलाई त्यति बेला राष्ट्रिय रेफ्री माया लामाको धेरै साथ थियो । उनले आफुलाई भग्यमानी बताउँदै भनिन, ‘मैले एन्फा रेफ्री कोर्स गर्नु आगाडीनै त्यति बेलाको राष्ट्रिय स्तरको अन्तर विध्यालय प्रतियोगिता कोकाकोला कप खेलाएको छु’। मेरो विस्वास, आँट र लगनशीलता देखेर नै पुर्व ए.एफ.सी इलाइट रेफ्री श्याम लामाले आफुलाई यो कप खेलाउने मौका दिएको उनको भनाई छ । एन्फा रेफ्री भईसकेपछि पनि उनको चाहना र पाईला रोकिएन । उनी राष्ट्रिय रेफ्रीको कोर्स गर्ने तयारिमा लागिन् । त्यतिबेला उनले फिफा रेफ्री रोजेन श्रेष्ठ संङ्ग राष्ट्रिय रेफ्री सम्वन्धि केहि प्रशिक्षण लिईन । २०७२ सालमा मा एन्फा रेफ्री भएकी उनि अन्ततः वि.सं. २०७५ मा राष्ट्रिय रेफ्री भएरै छाडिन । उनले राष्ट्रिय रेफ्रीको कोर्ष पुरा गर्नेबेला सम्म पनि त्यति रग्बी खेललालाई भने संगसङ्गै लागिरहेकी थिईन । यद्यपी एक पटक उनलाई यस्तो समस्या प¥यो कि उनले रेफ्री र रग्बी दुई मध्य एक रोज्नु पर्ने भयो । कारण एकै समयमा रेफ्रीबाट उनलाई भुटान र रग्बी बाट ब्रुनइ जानू पर्ने भयो । श्रीलंकन प्रशिक्षकको आँखा परेको राम्रो रग्बी खेलाडी थिईन उनि अन्तमा उनिले रग्बी छोडेर फुटबल रेफ्री नै रोजिन ।
उनले भने जस्तै साच्चिनै उनी भाग्यमानी छिन । उनले छोटो समयमा नै बाङ्लादेशमा भएको महिला साफ यु–१५, २०१७, भुटानमा भएको महिला साफ यु–१८, २०१८ र हालै नेपालमा भएको १३ औं साग पनि खेलाईन । उनले पुरुष बि डिभिजन, पुरुष सि क्वलिफायर, महिला लिग, उप मेयर कप, प्रधान सेनापती कप लगायत धेरै खेलहरु खेलाइसकेकी छिन । यति मात्र हैन उनले २०७२ सालमा गो स्पोट्र्स नेपाल र अमेरिकी एन.जी.ओ कोच एक्रोस कन्टिनेन्टको मिलेमतोमा भएको स्पोटर्स फर सोसिएल इम्प्याक्ट को कोच ट्रेनिङ पनि गरेकी छिन । गो स्पोट्र्स नेपालले आयोजना गरेको विभिन्न कार्यक्रममा भोलेन्टियरिङ पनि गरेकी छिन् । सोही एन.जी.ओ बाट उनले नेपालको प्रतिनिधित्व गर्दै अमेरिकामा भएको कल्चरल एक्सचेञ्ज कार्यक्रम र केन्यामा भएको लिडरसीप एक्सचेञ्ज कार्यक्रममा पनि सहभागिता जनाएकी थिइन । हालै भने उनी गो स्पोट्र्स नेपालमा युथ लिडर र चाइल्ड रिच नेपाल भन्ने एन.जी.ओ.मा गोल कोचका को रुपमा आबद्ध छिन् । फिफा इलाइट रेफ्री काेर्स गरिसकेकी उनकाे इच्छा फिफा इलाइट रेफ्री बन्ने रहेको छ साथै नेपालमा महिला फुटबलको विकास र प्रवर्धनका लागि महिला फूटबल एकेडेमी खोल्ने सपना उनले देखेकी छिन् । उनको यो अभिलाषा चाँडै पूरा होस हाम्रो पनि शुभकामना ।

राष्ट्रिय रेफ्री राधिका शाक्यसंगको कुराकानीमा आधारित ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured