जिरी, ३१ जेठ । जिरीका युवाहरुले सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम नउठाएको भन्दै प्रतीकारत्मक विरोध गरेका छन । सरकारसँग असन्तुष्ट दोलखा जिरीका केही युवाहरुले विरोधको कार्यक्रम गरेका हुन्। उनीहरुले अहिले कोरोना संक्रमणको बेला सरकारले देखाएको उदाशिनतादेखि भारतले हडपेको भूमिको विषयमा समेत प्लेकार्ड मार्फत प्रदर्शन गरेका छन ।
उर्जासिल युवा को सक्रियतामा आयोजित कार्यक्रममा योजना अनुरुप करिब एक घण्टासम्म सबै शान्तिपूर्ण र्याली गर्दै जिरीको लिङ्कन बजार क्षेत्रमा प्रदर्शन गरे। शारीरिक, भौतिक दूरी कायम गर्दै गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ…, रातो र चन्द्र सुर्य लगायतका गित घन्काए साथै राष्ट्रियगान गाएर सबैले राष्ट्रप्रती सम्मान प्रकट गरे ।
उनिहरु सबै उर्जासहित प्रस्तुत भएका थिए। सबैले मास्क लगाएका थिए । कार्यक्रममा कुनै दल निकट नभई नेपालको राष्ट्रिय झन्डाका साथ उनिहरु प्रदर्शनमा उत्रिएका थिए ।
नागरिक तहबाट सरकारलाई घच्घच्याउन भएको शान्तिपूर्ण प्रयासलाई राज्यको तहबाट सकारात्मक सुझाबको रुपमा लिनु जरुरी छ । यस्ता आन्दोलन निदाएको सरकार ब्यूझाउने आवाज बनेर सरकारले नागरिकको प्रश्नविरुद्ध कस्तो जवाफ दिन्छ भन्ने पनि हेतु राख्दछ ।
शान्तिपूर्ण प्रदर्शनमा स्थानीय युवाहरु भेला भएका थिए। हातहातमा प्लेकार्ड बोकेर सडकमा करिब एक घण्टा बसेका युवाहरुले कोरोना भाइरस परीक्षणमा आरडीटी परीक्षण बन्द गर्दै पीसीआरलाई लागू गर्न समेत माग गरेका छन।
युवाहरु प्लेकार्ड लिएर घाममा उभिनु रहर मात्रैको विषय नभएर सडकमा उत्रनुले निकै ठूलो महत्व राख्ने बताउँछन् । जसरी बिगतको विभिन्न ऐतिहासिक परिवर्तनको आन्दोलनहरुमा युवाहरुको सहभागिताले नेपाली राजनितिमा ठुलो अर्थ राखेको इतिहास उल्लेख छ ।
सरकारलाई कोरोना भाइरस नियन्त्रण प्रति जवाफदेही बनाउने उद्देश्य सहित केहीदिनयता देशभर प्रदर्शन भइरहेको छ। सामाजिक संजालमा सक्रिय समूहहरुको आह्वानमा देशका विभिन्न भागमा प्रदर्शन जारी छ । यद्यपि गृह मन्त्रालयले भने शुक्रबार बिज्ञप्ति जारी गर्दै लकडाउनको समयमा हुल्हुज्जत हुने कुनै प्रदर्शन नगर्न निर्देशन गरेको छ ।
प्रदर्शनको क्रममा देखिएको तस्बिर दृश्यहरु हेर्नुहोस ;
Add Comment