Featured Uncategorized देश / राष्ट्रिय पर्या पर्यटन मुख्य समाचार समाचार

समयमै डिपिआर नबन्दा प्रदेशको बजेटमा परेन जिरी ताल

असार, २ (जिरी । दोलखा)

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा जिरी ताल नसमेटेपछि निर्माण प्रक्रिया अन्यौलमा परेको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि प्रदेशसभामा हिजो प्रस्तुत गर्नुभएको बजेटमा फिल्म सिटी, चरिकोट अस्पताल, रामायण सर्किट, सामुहिक खेति लगायत दोलखाका विभिन्न ७ ओटा महत्वपुर्ण योजनाहरु समाबेस गरिएको भएतापनि जिरी ताल भने त्यसमा अट्न सकेन । प्रदेश सरकारले गत महिना सार्वजानिक गरेको निति तथा कार्यक्रममा प्राथमिकताका साथ जिरी ताललाई राखेको भएपनि निर्माण प्रक्रिया थालनीको लागि बजेट विनियोजन नगरेपछि ताल बन्ने नबन्ने सर्वत्र चासो र चिन्ताको विषय बनेको छ ।

प्रदेश सरकारका अनुसार कुनै पनि प्रोजेक्टको निर्माण त्यस्को डिपिआर मा आधारित हुने बताएको छ । सामाजिक विकास मन्त्रालयको एक कर्मचारीका भनाई अनुसार डिपिआरमा प्रोजेक्टका सवै डिटेल हुन्छन् त्यसैको आधारमा बजेट विनियोजन हुन्छ । तालको सम्भावना छ छैन, छ भने कस्तो बन्ने, कति खर्च लाग्ने, त्यसको निर्माण र व्यवस्थापन मोडालिटी के हुने भन्ने कुराहरुको ठोस तथा प्राविधिक विवरण नभई के आधारमा कति बजेट विनियोजन गर्ने ? उनको प्रतिप्रश्न रहेको छ । यद्यपी डिपिआर छिटै तयार गरेमा मुख्यमन्त्री बिकास कोषबाट बजेट पर्न सक्ने सम्भावना रहेको उनको भनाई छ ।

अनुमानित ६० करोड लागतमा निर्माण गर्न सकिने प्रारम्भिक अनुमान गरिएको जिरीताल को डिपिआर तयार गर्न करिव डेढ वर्ष अघि जिरी नगरपालिकाले आफ्नै आन्तरिक श्रोतबाट व्यहोर्ने गरी रु १ करोड २२ लाख रकम विनियोजन गरेको थियो । डिपिआर निर्माणको ठेक्का पाएको गी्रड ईनोभेटिभ ई.आई. इन्जिनियरिङ जेभी ले ९ महिना भित्र तयार गरि नगरपालिकालाई बुझाईसक्ने भनिएको भएतापनि हालसम्म बुझाएको छैन । विभिन्न बहानामा समय थप गर्दै उक्त परार्मशदाता कम्पनीले फाईनल डिपिआर तयार गरि नगरपालिकालाई हस्तान्तरण नगर्दा निर्माण प्रक्रिया सुरु हुन नसकेको हो । अन्तिम पटक गत चैत्र मसान्तमा वुझाउने भनिएको भएतापनि परामर्शदाताले काम नसकेकोले फेरी म्याद थपिएको जिरी नगरपालिका का इन्जिनियर खगेन्द्र जिरेलले बताए । बारम्बार समय सिमा वढिरहेको अस्थामा कहिले बन्ने टुंगो छैन ।

जिरी ताललाई नगरपालिकाले आफ्नो गौरबको योजनाको रुपमा राखेको छ । करिव डेढ वर्ष अघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, आर्थिक मामिलामन्त्री कैलाश ढुंगेल लगायतले ३ दिने जिरी बसाईका क्रममा प्रस्तावित जिरी तालको स्थलगत भ्रमण गरि छिटै निर्माण गर्ने आश्वासन दिएका थिए भने केहि महिना अगाडि सामाजिक विकास मन्त्री युवराज दुलाल ले समेत भ्रमण जरी जिरीबासीलाई ताल निर्माण हुनेमा आश्वस्त बनाएका थिए । जिरी एयरपोर्ट भन्दा केहि तल जिरी खोलाालाई थुनेर करिव डेढ किलोमिटर लामो र औषतमा १०० मिटर चौडा कृतिम ताल बनाउने नगरपालिको योजना रहेको छ । नगरपालिकाले सो क्षेत्रभित्र कुनै पनि अस्थाई तथा स्थाई संरचना बनाउन नदिएको भएतापनि जग्गा अधिकरण, मुअव्जा, लगायतका कार्यहरु अझै गरेको छैन । जिरी तालको निर्माण संगै जिरीको पर्यटन उद्योगले ठुलो फ्डको मार्ने सम्भावना रहेको भएतापनि समयमै डिपिआर निर्माण नहुँदा एवं प्रदेश सरकारले बजेट विनियोजन नगर्दा बन्ने नवन्ने अझै अनिश्चित छ ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured