Featured राजनीति विचार/ब्लग

“स्मृतिमा बुबा” :- कलम खड्का

आज असार दुइ गते बुबा शहीद रीत बहादुर खड्का (क.प्रताप) को शहादत प्राप्त भएको पनि अठारौँ वर्ष शुरू भएछ । यस स्मृति दिवसमा उहाँको गहिरो सम्झना र हार्दिक श्रदान्जली व्यक्त गर्न चाहन्छु ।
अझै पनि उहाँले देखाएको सपना र कार्यभार अघुरै रहेकोमा चिन्ता व्यक्त गर्नपनि चाहन्छु ।
उहाँले रगत बगाएर सर्वहारा, दुखी र सिमान्तकृत जनताको मुक्तिको खातिर परिवर्तन खोज्नु भयो ।
दश वर्ष लामो जनयुद्धको जगमा केही परिवर्तन आयो ।
राजनैतिक रुपमा सामन्ती राजतन्त्रामक शासन प्रणालीबाट गणतन्त्र, धर्मनिरपेक्षता, र समावेसिता जस्ता केही अग्रगामी मुद्धाहरू नयाँ संविधान मार्फत संस्थागत भए ।
मलाई याद भएनुसार र उहाँका सारथीले उहाँको स्मृतीमा लेखेको संस्मरणबाट थाहाँ पाउदा कसरी वास्तविक जीवनमा यस्ता अग्रगामी मुद्दालाई उहाँले लागु गर्नुहुन्थ्यो भन्ने कुरा केही राख्न चाहन्छु ।

अहिले विश्वभरी #BlacklivesMatter र नेपालमा #Dalitlivesmatter आन्दोलन चलिरहेको सन्दर्भमा एक मेरो बुबासगँको अनुभव राख्न चाहन्छु ।
एक दिन जनयुद्धकै क्रममा बुबा घरमा आउनु भएको थियो । संयोगले त्यो दिन हाम्रो गाउको मिठे नेपाली काका पनि आउनुभएको थियो । त्यतिखेर बुबा घरको तलामाथि कोठामा हुनुहुन्थ्यो । बुबाले मिठे काकालाई, दाई घर भित्र माथी कोठामा नै आउनुस भनेर बोलाउनु भयो । मैले गाउको लुगा सिउने दमाई हाम्रो घर भित्र गएको कहिलै देखेको थिएन । उता मिठे काका अनकनाउनु भयो, थरथर काप्नुभयो । बुबाका साथीले हात समाएर मिठे काकालाई बुबा नहिच्किचाउनुस भनेर बल गरेसी जानुभयो । बुबाले सगैँ खाटमा राखेर धेरैबेरसम्म गफ गर्नु भयो । सगैँ एउटै प्लेटबाट खाजा खानु भयो । त्यसले मेरो दिमागमा समाजले भरिदिएको छुवाछुत तल्लो जात उपल्लो जात हुन्छ भन्ने अन्धविश्वास हटाइदियो । मिठे दमाई हैन मिठे काका मेरो अरू काका जस्तै काका हो, मानवताको आधारमा सबै समान छौ । र मैले बुझेँ मेरो बुबा र उहाँमा केही फरक छैन, मलाई पहिले भन्दा धेरै सम्मान जागेर आयो । मिठे अंकल सगँ मेरो साथी प्रकाश नेपाली Prakash पनि थियो । बुबाले उसलाई पनि घरभित्र बोलाउनु भयो, ऊ मानेन । बुबाका साथीले मिठे काकालाई घरभित्र लगेपछि मैले प्रकाशलाई लग्न बल गरेँ, तानेँ, बुबाले घर भित्रबाट बोलाउदा बोलाउदै पनि उसले भएभरको बल लगाएर भित्र जानै मानेन, उ भाग्यो, मैले हारेँ । त्यो हारले मलाई सँधै त्यसका पछाडी भएका सदियौँ बर्ष देखिका छुवाछुत रहिरहनुका शुष्म कुराहरू खोतल्न अझै झक्झकाइरहेको छ । पाचँ हजार बर्ष अघि देखि दलितलाई थिचोमिचो गरेर, पुराना शास्त्र पढ्न बुझ्नबाट बन्देज लगाएर, त्यही शास्त्रको आधारमा पाप लाग्छ, देवता रिसाउछन्, जस्ता हावा भएका नभएका छुवाछुत जस्तो नमानविय अपराधलाई बचाइराख्न बनावटी कथा समेत सुनाएर दवाइएको थियो ।
त्यसैले दलितका बच्चालाई तिनै कुरा जो सिक्न हजारौँ बर्ष प्रतिबन्ध लगाइएको थियो, तिनै कुरा अहिले सिक्न पढेर बुज्न सगै अरूसगँ प्रतिस्पर्धा गर्न पक्कै गार्हो हुन्छ । अझ मैले देखेनुसार सदियौ बर्ष देखि दबाइएको हेपिएको हुनाले जब सबैका छोराछोरीलाई सगैँ एउटै विधालयमा अरू सदियौ वर्ष देखि हेप्नेहरूकै बच्चाहरूसगै प्रतिस्पर्धी हुदाँ, दलितका बच्चाहरु कुटिइने, हेपिइने देखेको छु । बाआमाले घरमा दलितलाई हेप्न जे बोल्ने गरेको छ, त्यही तरिकाले बोल्ने धेरै सम्भावना हुन्छु । त्यसैले हरेक अवसरमा आरक्षणले मात्र समान अवस्थामा ल्याउन सकिन्छ ।

म अहिले विचार गर्छु, मेरो साथी प्रकाश सात आठ बर्षको हुदाँ नै हाम्रो घर भित्र पस्न अवसर दिदाँपनि हिच्किचाउनका कारणहरू ।
ती कारणहरू शुष्म रूपमा गाउघरका चलनचल्ति, भाषा, युक्ति र व्यवहारमा लुकेका छन । ति कारणहरू संविधानमा समान हक अधिकार, केही अवसरहरूमा आरक्षण र छुवाछुत विरूद्ध कानुनी दण्डले मात्र हटाउन नसकिने रहेछ । जस्तै उदाहरणको लागि केही समय अघिको कुरा हो, एक जना रामेछाप शिवालय तिरका बस्नेतले आफ्नो आफन्तहरूको जमघटमा पुराना कुरा याद गर्दै गफ लडाइरहेका थिएँ । त्यसमा उनले जनयुद्ध ताका घटेको एक घटनाको कुरा झिके । जनयुद्धमा एक गाउका विश्वकर्मा शहिद भएको कुरा उप्काए । उनले भने – “गाउँकै कामी भएर हाम्रो घरको चुलोमा आयो, खाना खायो माओवादी हु भन्दैमा तर मैले त्यसलाई देखलास, हाम्रो कुलले के गर्दो रहेछ भनेर पठाएको थिएँ । नभन्दै एक दुई महिना मै आम्रीसगँको भिडन्तमा मारिएछ, हाम्रो कुल देवता क्षातक्षातका छन ।”
यसरी सेनाको गोली र तत्कालिन सरकारको हत्याबाट शहादत भएको सत्यतालाई तोडमोड गरेर छुवाछुत प्रणालीलाई कायम राख्न डर धम्कीको सहारा लिएर देवता, भुत, र हावाको डर देखाउने गरेका छन। यसरी अहिले जन्मेका कलिला बाल मष्तिकमा पनि छुवाछुत कायम राख्न सफल भएका छन । यस्ता कहानी बनाउनेहरूमा पनि चरम अन्धविश्वास देख्छु र अन्धविश्वासमा विश्वास गर्नेमा पनि अन्ध विश्वास देख्छु । त्यसैले क्रान्ति अब सबैको मन भित्र गर्न जरूरी छ । राजनितिक रूपमा मात्र हैन । अबै सबैले चेतनाको स्तर व्यक्तिव्यक्तिको रूपमा नउठाएसम्म छुवाछुत, दलन, र यो समाजको विधयमान कुरूप, घिनलाग्दो, अन्धविश्वास हट्ने छैन । यो अब हट्नुपर्छ, हामी सबैले आफ्नो जिम्मेवारी लिएर समाजमा भएका शुष्म अन्धविश्वासलाई मिलेर हटाउनु पर्छ नत्र मेरो साथि प्रकाश, कथित क्षेत्री बाहुनको घर भित्र जान अझै हिच्किचाउने छ । अनि धेरैले अझै दलित भएकै आधारमा प्रेमबाट बन्चित गराएर रूकुम घटनाका नवराजले जस्तै रगत बगाइरहनुपर्छ ।यहाँ अझै केटाकेटी एक अर्कालाई मनपरापर गरेपनि कथित बाहुन जात र क्षेत्री जात भएकैले विवाह हुन नदिने अवस्था समाजमा विधमान छ । त्यसबाट प्रभावित त म पनि एक हुँ ।

मलाई लाग्छ जन्मले कोही पनि दमाई हुदैन, जो अरू मान्छेलाई लुगाले मात्र हेर्छ, लुगा लगाएको अनुसार व्यवहार गर्छ उ दमाई हो, त्यस्तै जो अरूको धन सम्पति, ध्रव्य, गर गहना अनुसार व्यवहार गर्छ, ऊ कामी र हो शरिरको रुप, छालाको रङ हेरेर व्यवहार गर्छ, ऊ ब्राहमण जात मै नै जन्म भएको भएपनि ऊ चमार हो । ब्राहमण त जन्मले हुदैन जो ज्ञानी छ, ऊ ब्राहमण हो । त्यसैले जन्मका आधारमा जात छुट्याएर, छुवाछुत गर्नु अमानविय अपराध हो । त्यसैले अझ लामो संघर्ष बाकी नै रहेको छ । त्यो संघर्ष राजनितिक उपलब्धी लाई संस्थागत गर्दै समाजमा भएको प्रत्येक व्यक्तिव्यक्तिका कुरीति, अन्धविश्वासका शुष्म कारणहरूलाई ध्वस्त पार्नुपर्ने जरूरी छ, त्यो चेतनाको वृद्दि- शिक्षा, आर्थिकरूपमा सबै सिमान्तकृत सर्वहारावर्गलाई सक्षम बनाउन सके मात्र त्यसको प्रभाव कम गर्न सकिन्छ ।
बुबाले रगत बगाएर ल्याएको राजनितिक उपलब्धीलाई संस्थागत गरेर अब समाजमा रहेका त्यस्ता कुरुती, कुसंस्कार र अन्धविश्वासका शुष्म काला दागहरूलाई हटाउने जिम्मा छोराको पुस्ताको काधँमा सुम्पेको भान भएको छ । अबको बाटो भनेको महिला अधिकार, समानता जो अहिलेको संविधानमा सुनिस्चित छैन । अझै मैले आमाको नाममा नागरिकता लिन पाउदिन, बुबाको नागरिकता बनेको समयको ढड्डा पलटाएर मात्र मलाई नागरिकता दिइयो । यो अवस्थालाई हटाउन, छोराछोरी समान भनेता पनि अझै छोरीलाई रास्ट्रियता, नागरिकताको सवालमा भेदभाव कायम नै छ । थप सबै क्षेत्रमा समावेसी, समानुपातिक र राजनितिक रूपमा महिला माथिको अविश्वास कायम नै छ । यो महिला माथिको असमानतालाई हटाउन पनि एक आन्दोलनको आवश्यकता बाकी नै छ ।
अर्को पर्यावरण बचाउनका लागी ध्यान दिनु पर्ने कुरा #Covid19 यो कोरोना भाइरस महामारीले प्रष्ट रूपमा संकेत गरिसकेको छ । त्यसैले विकास मात्र हैन, स्वस्थ समाज बनाउन लाग्नु पर्छ ।
सन्तुलित विकास जसमा आधुनिकतामा मात्रमा ध्यान हैन पर्यावरणको बचाउको लागि त्यति नै ध्यान दिने गरी विकास अघि बढाउन जोड गर्नुपर्छ ।
नेपाललाई अरू देश जस्तो बनाउने हैन । हाम्रो नै मौलिकतामा जे गरी राखेको छ, त्यसलाई नै जस्तै कृषि आधुनिकीकरण गरेर साथै शिक्षा, स्वास्थ्य, रोजगार जस्ता नैसर्गिग हकअधिकारलाई सुनिस्चित गर्ने लाग्नु पर्छ ।
सुख हैन दुख गर्नू पर्छ भन्ने नारा दिनुपर्छ । तर दुख गर्दा खान बस्न, स्वास्थ्य, शिक्षा र रोजगारीको प्रत्याभुति हुनुपर्छ । आन्नदको प्रत्याभुती दिन तिर ध्यान दिनुपर्छ, सुखमा हैन ।
बुबाले सोचे जस्तै समावेसी समानुपातिक केही मात्रमा भएपनि क्रान्तिकारी समाजवाद उन्मुख संविधान साथै केही अग्रगामी राजनितिक परिवर्तन भएका छन् । बुबाले एक हाम्रो गाउँकी जेठी आमा शिर्षकमा कविता लेख्नु भएको थियो-
…….हाम्रो गाउँको जेठी आमाले
……..
यो देशको नयाँ संविधान खोजेकी छिन
यो देशको वकिललाई खोजेकी छिन
यो देशको कानुनलाई खोजेकी छिन
यो देशको मानवअधिकारवादीलाई खोजेकी छिन
यो देशको पत्रकार र लेखकलाई खोजेकी छिन ………
……………..
नयाँ संविधान आएको छ । गणतन्त्र आएको छ । सामन्तवाद गएको छ । रपनि बुबाका केही सारथी यति परिवर्तनले मात्र खुसी हुनुहुन्न, त्यो असन्तुष्टीलाई समेट्न पनि बाँकी छ ।
चिन्तासगैँ बुबाको महान बलिदान प्रति गौरव र खुसी पनि लाग्छ । बुबाको स्मृतिमा दिपशिखा Ram Prasad अंकलले लेख्नु भएको थियो- जुगुँको उखुबारी गाउमा बस्दा उहाँले परिकल्पना गर्नुभएको थियो रे, चरिकोटबाट सडकलाई गाउगाउ जिल्लाका टाढाटाढा विकट ठाउँहरूमा पुर्याउनु पर्छ भनेर । नभन्दै अहिले उहाँको परिकल्पना जस्तै कुनाकन्दरा सम्म सडक सञ्जालहरू बनिरहेका छन । ति सडकमा बसमा हुइकिदाँ, जनताको सास्ति कम भएको देख्दा आन्नद लाग्छ, बुबा हासेको देख्छु, मन फुरूङ्ग पार्छु ।
तरपनि एक चोटी हजुरमुमाले बुबालाई सोध्नु भएको थियो । बाबु यो युद्ध कहिले सकिएला भनेर । त्यो बेला बुबाले भन्नुभएको थियो, यो लामो चल्छ आमा, हामी मात्र लडेर परिवर्तन हुदैन, छोरा नातिसम्मले संघर्ष जारी राख्नु पर्ने हुन्छ । हो साच्चै आज महशुस हुन्छ, उहाँले भनेजस्तै अझै क्रान्ति गर्न धेरै बाकी छ । अझै मैले र मेरा पुस्ताले लड्न बाकी रहेछ । अबको संघर्ष बुबाले लडे भन्दा फरक हुनेछ, कसैले रगत बगाउनु पर्दैन तर बगाउन जरूरत परे पछी हट्नु पनि हुदैन ।
महान शहीद रीत बहादुर खड्का प्रति हार्दिक श्रदान्जलि ।
सबै जनयुद्धका ज्ञातअज्ञात शहीदहरूप्रति सम्झना ।।
महान् शहीद – अमर रहुन् ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured