Featured देश / राष्ट्रिय राजनीति विचार/ब्लग

अहिलेका युवा रियाक्टिभ तर सम्झौतापरस्त छन्

आजका नौजवानमा राजनीतिप्रति पटक्कै रुचि छैन भन्ने कुरामा मेरो विमति छ । पहिलेका युवामा राजनीतिप्रति खुबै रुचि थियो, अहिलेका युवामा फिटिक्कै रुचि रहेन भन्नेमा झन् असहमति छ । नौजवान ‘ईः’सहितको अगुवाइमा सुरु भएको ‘इनफ इज इनफ’मा समर्थन थियो नै, अनशनका क्रममा भेटेर ऐक्यबद्धता पनि जनाइयो । आन्दोलनमा सहभागीहरू ‘राजनीति गर्न आएका होइनौँ’ भनिरहेका थिए । उनीहरू राजनीतिक रंग नदेखियोस् भन्नेमा सचेत मात्र होइन, सतर्क पनि देखिन्थे । ‘झन्डा नलिईकन आइदिनुहोला,’ ‘राजनीतिक टोपी खोलेर आइदिनुहोला’ भन्ने आग्रह थियो । सोधेँ, ‘सडकमा किन आएको ?’ कोभिड–१९ लाई सरकारले ‘रेस्पोन्स’ नगरेकाले । ‘के चाहनुहुन्छ ?’ सरकारले ‘रेस्पोन्स’ गरिदियोस् । हाम्रा परम्परागत आवश्यकता (गा“स, वास, कपास)को चिन्ता लिनुपर्ने वर्गका होइनन्, ती युवा । अधिकांश काठमाडौंमा घरसहितका सुविधा भएका होलान् । अथवा, काठमाडौंमा जीवनयापनका लागि सुविधाजनक स्रोत भएका परिवारका होलान् । तर, ती सीमामा अलपत्र परेका नागरिकको चिन्ताले सडकमा आएका छन् । गुजारा गर्न नसकिने भएपछि पैदलै थातथलो फर्किरहेका श्रमजीवीको पीडाले भतभती पोल्न थालेपछि सडकमा आएका हुन् । अब समाजको बृहत्तर हितका लागि युवा सडकमा आउँछन्, अनशनजस्तो कठोर साधना गर्छन् भने ती युवाको राजनीतिमा रुचि छैन कसरी भन्न मिल्छ ?

यस्तो रुचि, चासो र सक्रियता एकाधचोटि होइन, बारम्बार देखिने गर्छ । चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले प्रत्येकचोटि सत्याग्रहमा गर्दा सडकमा आउने मात्र होइन, सामाजिक सञ्जालमार्फत समर्थन–विरोध गर्ने अधिकांश युवा नै त थिए । र, ती सबै राजनीतिमा रुचि भएकै हुन् । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका लागि न्याय खोज्न महिनौँ सडकमा उत्रिने युवालाई राजनीतिमा रुचि छैन भन्न मिल्दैन । उपचार नपाई मृत्युवरण गर्न बाध्य राजु सदा अनि पुलिस हिरासतमा मरेका शम्भु सदाको न्यायका लागि जनकपुरमा सडक तताउने युवालाई राजनीतिमा रुचि छैन कसरी भन्ने ?

यसर्थ, राजनीतिप्रति युवाको रुचि जगाउनुपर्छ भन्ने कुरामा मेरो असहमति हो । कुनै राजनीतिक दलको सदस्यता लिएर निश्चित जिम्मेवारी सम्हाल्नु मात्र राजनीति होइन । राजनीतिप्रति रुचि जगाउने भनेको समाजप्रति रुचि जगाउने हो, सामाजिक दृष्टि दिने हो, विश्वदृष्टि दिने हो, आलोचनात्मक चेत राख्ने हो, जसले प्रकारान्तरले पद्धतिमै योगदान गर्न सकोस् । राजनीति कुनै अमुक दलमा आबद्ध हुनेभन्दा बृहत् कुरा हो । लोकतन्त्रमा विधिको शासन पालन गर्ने, पालना गर्न दबाब दिने, आलोचनात्मक चेतसहितको नागरिकको अपेक्षा हुन्छ । यसैले राजनीति र राजनीतिप्रतिको रुचिलाई ठूलो क्यानभासमा राखेर विश्लेषण गर्दा आजको युवामा राजनीतिप्रति रुचि छैन भन्ने भाष्य गलत छ ।

कतिपयलाई पहिलेका पढेलेखेका युवामा राजनीतिप्रति बहुतै अभिरुचि थियो, अहिलेका युवामा हरायो भन्ने लाग्छ । त्यो झन् गलत छ भन्न म मेरै निजी अनुभव साझा गर्छु । त्रिचन्द्र कलेजको विद्यार्थी राजनीतिमा छँदा ‘आई हेट पोलिटिक्स’ भन्नेखाले नौजवानको राजनीतिमा कसरी रुचि जगाउने भन्ने विषयमा गन्थनमन्थन भएका थुप्रै कार्यक्रममा म स्वयं सहभागी भएको छु । म नेपाल विद्यार्थी संघको केन्द्रीय तहमा पुगिसकेको ०६०–६१ को सेरोफेरोमा पनि म युवाको राजनीतिप्रति रुचि हराउँदै गएको चिन्तास्वरूप उपायबारे विमर्श गर्न आयोजित कार्यक्रमहरूमा सहभागी भएको छु । त्यस्ता कार्यक्रम अचेल पनि भइरहेका छन्, भविष्यमा पनि भइरहनेछन् ।

हिजो राणाशाही वा पञ्चायत फाल्न ज्यानको परवाह नराखी सक्रिय भएको युवा मुलुकको बृहत्तर हितका लागि राजनीतिक प्रणाली बदल्न आएको थियो । फरक यत्ति हो, अहिलेको युवा बृहत्तर हितकै लागि आएको छ, प्रणालीस“ग प्रश्न गर्न आएको छ । शासकको चरित्र, कार्यशैली बदल्न आएको छ । हिजो ‘रेजिम’ परिवर्तनको विषय थियो, अहिले जनजीविकास“ग जोडिएका विषय छन् । तैपनि ऊ ‘म राजनीति गर्दिनँ’ भनिरहेको छ । हो, ऊ कुनै राजनीतिक दलमा आबद्ध छैन, ऊ राजनीतिक दल, नेताहरूलाई घृणा नै गर्छ । यसको मतलब उसको राजनीतिमै रुचि छैन भन्ने होइन । यसैले राजनीतिमा नौजवानको सहभागिता बुझ्ने दृष्टिकोणमा खराबी छ, त्यसमा परिवर्तन गर्नुपर्छ ।

हो, सूचना प्रविधिको यो युगमा सामाजिक सञ्जालका कारण सडक संघर्षमा सहभागिता घटेको हुन सक्छ । आफ्नो आवाज आफ्नै प्लेटफर्मबाट प्रवाह गर्न सकिने सुविधा हुँदा सामाजिक सञ्जालले मान्छेलाई सशक्त बनाइदिएको छ । ‘इनफ इज इनफ’ वा डा. गोविन्द केसीको सत्याग्रहमा धेरैको जबर्जस्त समर्थन हुन्छ, तर अधिकतर युवा सामाजिक सञ्जालबाटै आक्रोश, असन्तुष्टि, ऐक्यबद्धता जनाउँदै सडकमा निस्किन अल्छी गर्छन् । यद्यपि, सामाजिक सञ्जालकै कारण ‘इनफ इज इनफ’मा देशैभरका सहरी युवा सडकमा आएको तथ्य पनि त छ । फेरि, अहिले सरकार कोहीसँग डराएको वा दबाब महसुस गरिरहेको छ भने त्यो सामाजिक सञ्जालबाटै छ । भलै, सरकारविरुद्ध विशाल सडक आन्दोलन भएको छैन, तर सोसल मिडियाले जबर्जस्त दबाब त दिइरहेको छ । सरकारको विरोध र सरकारमाथि प्रश्न त्यहीँबाट छ ।

सोसल मिडिया नभएको कल्पना गर्दा अहिलेको सत्ता त कोहीसँग नडराउने रहेछ । दुइटा अखबारले लेखेर के हुन्छ, चारवटा टेलिभिजिन बोलेर के हुन्छ भन्थ्यो होला । तिनैलाई एउटा–एउटा पार्टी वा नेताको बफादारको बिल्ला भिराइदिन्थ्यो होला । खुरुखुरु आफ्ना कर्म–कुकर्मलाई अघि बढाउँथ्यो होला । युवाले फेसबुकमा स्टाटस लेखेर, ट्विट गरेर वा टिकटक भिडियो बनाएर आफ्नो ड्युटी पूरा गरेँ भन्ठानेको हुन सक्छ । ड्युटी पूरा भएको भन्ठान्दा ऊ सडकमा आएन होला, सडकमा आउन बाध्य बनाउने आक्रोश सामाजिक सञ्जालमै पोखेर हल्का महसुस गर्‍यो होला । तर, सामाजिक सञ्जालकै कारण ‘इनफ इज इनफ’ उचाइमा पुगेको हो ।

अहिलेको युवा बृहत्तर हितकै लागि आएको छ, प्रणालीसँग प्रश्न गर्न आएको छ । शासकको चरित्र, कार्यशैली बदल्न आएको छ । हिजो ‘रेजिम’ परिवर्तनको विषय थियो, अहिले जनजीविकासँग जोडिएका विषय छन् । तैपनि ऊ ‘म राजनीति गर्दिनँ’ भनिरहेको छ ।

मैले हरेक दिनजसो राजनीतिमा रुचियुक्त युवा भेटिरहेको हुन्छु । कोही उद्यम गरिरहेका छन्, कोही पर्यावरण संरक्षणमा सक्रिय छन्, कोही सहरमा पार्क बनाउने अभियानमा छन् । कोही दलित, महिला आदि सीमान्तकृतको अधिकारमा लडिरहेका छन् । आजका युवा विविध आन्दोलन र अभियानमा छन् । म ती सबको राजनीतिमा रुचि रहेको ठान्छु । फेरि आफ्नै निजी अनुभव– त्रिचन्द्र कलेज पढ्दा डिजेलबाट चल्ने विक्रम ट्याम्पो विस्थापित गर्ने अभियानमा सहभागी थिएँ । एउटा बिन्दुमा पुगेपछि मलाई ‘नेविसंघको टोपी खोलेर स्वतन्त्र नागरिकको रूपमा सक्रिय हुनुस्’ भनियो । मैले ‘समस्याको समाधान खोज्ने हो भने राजनीतिक संघ–संस्थाले यो एजेन्डा उठाइदिँदा चाँडै समाधान निस्किन्छ । तर, तपाईंहरू समाधानभन्दा आफ्ना लागि स्पेस खोजिरहनुभएको छ, यसले समाधानमा विलम्ब हुन्छ’ भनेँ र नेविसंघको टोपीमै सहभागी भइरहेँ । यहाँनेर मलाई ‘पार्टीको टोपीमा नआउनुस्’ भन्नेको राजनीतिमा रुचि नभएको होइन । फरक यत्ति हो, म आफूले बनाएको स्पेसलाई बलियो बनाउ“दै माथि उक्लिन खोज्दै थिएँ भने उनीहरू स्पेस खोजिरहेका थिए ।

विभिन्न पेसा, व्यवसायमा स्थापित हुन् वा विद्यार्थी नै हुन्, जसमा राजनीतिप्रति अभिरुचि छ, तर राजनीतिक दलमा आबद्ध छैनन्, तिनलाई दलमा सक्रिय बनाउने अर्को सन्दर्भ हो । ठुल्ठूला आन्दोलनमा दलप्रति युवाको आकर्षण चौतर्फी बढ्ने र पछि घट्ने प्रवृत्ति देखिन्छ । ०४६ को आन्दोलनताका र आन्दोलन सफल भएपछिको राजनीतिमा युवाको दलप्रति आकर्षण जबर्जस्त थियो । लाखौँ युवाले पार्टीका सदस्यता लिए, सक्रिय भए । तर, दलहरू अलोकप्रिय हुँदै गर्दा माओवादी सशस्त्र विद्रोह फैलिने क्रममा माओवादीमा भर्ती हुने आकर्षण युवामा देखियो । त्यस्तै, ०६२–६३ को जनआन्दोलनमा लाखौँ युवाले दलको झन्डा बोके । अहिले चरम निराशा छ, पढेलेखेका युवामा दलमा आबद्ध हुने आकर्षण घटेको छ ।

तर, विभिन्न पेसा, व्यवसायमा आबद्ध युवालाई दलमा आबद्ध गर्ने कुरा हिजोआज बहसमा छ । हामीले राजनीतिको सुरुवात गरेको बिन्दुबाट तिनले राजनीति सुरु गर्ने भन्ने हुँदैन । मैले स्कुलमै नेविसंघको सदस्यता लिएँ, कलेज प्रवेश गरेपछि राजनीतिमा सक्रिय भएँ । राजनीतिमा मेरो सक्रियता तीन दशक पुग्यो । अब अहिलेका युवालाई त्यसैगरी कलेजमै सदस्यता लिएर विद्यार्थी संस्थामा सक्रिय हुने वा पार्टीको सदस्यता लिएर तल्लो तहबाट माथिल्लो इकाइ हुँदै राजनीति अघि बढाउन सम्भव छैन । उनीहरूका लागि विभिन्न अध्ययन, अनुसन्धान, अभियानबाट आर्जेको ज्ञानका आधारमा जिम्मेवारी दिने गरी ल्याटरल इन्ट्रीको बाटो खोल्नुपर्छ ।

म सहरमा बस्ने बुद्धिजीवी, विज्ञ, ब्युरोक्र्याट एवं विख्यात विश्वविद्यालयमा पढेर आएका व्यापारिक परिवारका युवासँग भेटिरहेको हुन्छु । तिनमा पनि पार्टीको सदस्यता लिएर सक्रिय राजनीतिको लक्ष्य लिएका उल्लेख्य छन् । दूरदराज गाउँमा पढिरहेका वा कुनै पेसा, व्यवसाय गरिरहेका युवामा पनि राजनीतिमा सक्रिय हुन खोज्ने थुप्रै छन् । हार्वर्डलगायतका विख्यात विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीसँग त म नियमित सम्पर्कमा मात्र छैन, सहकार्यमा नै छु । त्यहाँ राजनीतिमा सक्रिय हुने, मेयर हुने, सांसद बन्ने वा टेक्नोक्र्याटको काम गर्ने रुचि भएकाहरू छन् । अमेरिकामा १० वर्ष पढेर/पढाएर आएका एकजना साथीले भर्खरै कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । तर, ती युवा अग्रजहरूको राजनीतिको पारा देखेर डराएका छन् । काम गर्न पार्टीको प्लेटफर्म खोजिरहेका छन्, तर पार्टीहरूको संरचना यस्तो जब्बर छ कि तिनले टेक्ने ठाउँधरी छैन । कांग्रेस मात्र होइन, सबै पार्टीले त्यस्ता युवालाई भित्र्याउन र काम गर्ने वातावरण बनाउन अब विलम्ब गर्नुहुन्न । अहिले राजनीतिक दलहरूमा एउटै फर्म्याटमा काम गरेका मान्छे मात्र छन्, यस्ता युवाका लागि बाटो खोलिदिनेबित्तिकै त्यसले पार्टीलाई ‘भ्यालु एड’ गर्छ । गभर्नेन्स डेलिभरीमा सघाउ पुग्छ ।

प्राप्त सुविधाका आधारमा आजको नौजवान तीन कुरामा मभन्दा अब्बल हुनुपर्छ : चरित्र, क्षमता र विचारमा । आजका युवामा विश्वदृष्टि पनि मेरोभन्दा परिमार्जित र फराकिलो हुनुपर्छ । मभन्दा प्रगतिशील हुनुपर्छ । किनभने, उसले मभन्दा धेरै एक्सपोजर पाएको छ । तर, नियालेर हेर्दा अवस्था डरलाग्दो छ ।

०६० को सेरोफेरोमै दुईथरी पात्र र प्रवृत्ति थिए– पञ्चायतविरुद्ध लडेर आएको कांग्रेस र प्रजातन्त्रमा हुर्किएको कांग्रेस । प्रजातन्त्रमा हुर्किएका मजस्ता कांग्रेसको त्यस सेरोफेरोमा वामपन्थीका साथै विभिन्न सामाजिक अभियन्ता, पेसाकर्मीसँग संगत, अन्तरक्रिया भयो । त्यस्तो विविध संगतका कारण हामी नौजवानले समावेशी लोकतन्त्र, सामाजिक न्याय आदिबारे बुझ्ने मौका पायौँ । त्यसबाट एउटा अलि बृहत् दृष्टिकोण बन्यो । पार्टीको एजेन्डा बनाउन त्यो दृष्टिकोण प्रभावकारी साबित भएको पनि हो । त्यसले नेपालको राजनीतिमै भ्यालु एड गर्‍यो । अहिले त्यस्तो संगत, सहकार्य र अन्तरक्रिया ठप्पप्रायः छ । उद्यमी, सामाजिक अभियन्तादेखि विद्यार्थीसम्मका फरक पेसा र पृष्ठभूमिका मानिससँग अन्तरक्रिया नगर्दा दृष्टिकोण एकाकी हुन पुग्छ । यसरी जुन विश्व दृष्टिकोण बन्नुपर्ने हो, त्यो बन्न सक्तैन । यस्तो अहिले कही भइरहेको छैन । यसबारे बौद्धिक विमर्श पनि भइरहेको छैन ।

अहिले राजनीतिमा अभिरुचि राख्ने युवा पर्याप्त र परिपक्व पनि छन् । यद्यपि, तिनलाई दलमा आबद्ध गराएपछि राजनीति सम्हालिहाल्छ भन्नेचाहिँ होइन । युवाले समस्या कोट्याउनुका साथसाथै समाधानको उपाय पनि दिन सक्नुपर्छ । रोबर्ट केनेडी भन्छन्, ‘यो संसारले युवा जीवनको सौर्यवान् कालखण्ड होइन, बरु युवा गुणहरूको माग गर्दछ, दृढ इच्छाशक्ति, प्रखर कल्पनाशीलता, प्रबल साहस, सहजता होइन, साहसिक जीवनप्रतिको अभिरुचिको माग गर्दछ ।’

युवामा जोखिम मोल्ने हिम्मत र भोक हुनुपर्छ । युवा त्यो हो, जो संकीर्णताबाट बाहिर निस्किन खोज्छ । जुन अहिलेको युवामा अलि कम देखिन्छ । राजनीतिमा लागेको युवामा मात्र हैन, नलागेका युवामा पनि यस्ता गुण कमै देख्छु । धाकै सही, मैले कांग्रेसको अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेको जोखिम मोल्ने साहस भएकैले हो । युवामा आक्रोश आवश्यक छ, स“गस“गै ज्ञानको भोक र समाधानको अठोट पनि चाहिन्छ ।

अहिले समस्या बताइदिने युवाको कमी छैन । तर, समाधानको खोजी गर्ने दृढ अठोट उनीहरूमा छैन । जुनै सरकार आए पनि ‘कानै चिरेका’मात्रै भन्न त खेतमा हलो जोतिरहेको श्रमिकले पनि भन्दिन सक्छ । पढेलेखेका युवासँग सरकारमा जानेहरूले कार्यसम्पादन किन गर्न सकिरहेका छैनन्, के–के गरे डेलिभरी गर्न सकिन्छ भन्ने खोज हुनुपर्छ । यस्ता चिन्तनतिर मन नलगाएका कारण युवाले आत्मविश्वास गुमाएको छ, त्यसैले ऊसँग गालीसिवाय केही छैन । युवामा नवीन चेतनाको कमी ठूलो चिन्ताको विषय हो । यसमा विमर्श हुनुपर्छ । आजको नौजवान सचेत, जुझारू र ज्ञानवान् छ । तर, आफूले आर्जेको ज्ञान र सीप समाजको बृहत्तर हितमा लगाउने ध्याउन्न उसमा छैन । किनकि, ऊ निजी करिअरमा मात्र केन्द्रित छ । प्राप्त सुविधाका आधारमा आजको नौजवान तीन कुरामा मभन्दा अब्बल हुनुपर्छ : चरित्र, क्षमता र विचारमा । आजका युवामा विश्वदृष्टि पनि मेरोभन्दा परिमार्जित र फराकिलो हुनुपर्छ । मभन्दा प्रगतिशील हुनुपर्छ । किनभने, उसले मभन्दा धेरै एक्सपोजर पाएको छ । तर, नियालेर हेर्दा अवस्था डरलाग्दो छ । अहिलेको युवा ‘रियाक्टिभ (प्रतिक्रियावादी) र चरित्रमा सम्झौतापरस्त छ ।

ईः प्रतिनिधि पात्र हुन् । अभियानमा लागेका यी युवा देख्दा उत्साहित हुन सकिन्छ । उनीहरूसँग परम्परागत चिन्ता गर्नुपर्ने कुरा छैन । तर, सीमामा अलपत्र परेको मान्छेको पीडाले पोलेर, लुखुरलुखुर पैदल थातथलो हिँडेका श्रमिकको दुःख देखेर उनीहरू आन्दोलनमा आएका छन् । क्वारेन्टाइनको भद्रगोल, अमानवीय दुर्व्यभार, जातीय विभेदलाई सुनेर यी युवा सडकमा निक्लिएका छन् ।

यावत् असन्तुष्टिहरूले आलोचनात्मक चेत हुनुपर्ने युवालाई कतै सिनिकल (सनकी) र रियाक्सनरी त बनाइरहेको छैन ? युवालाई कसरी सिनिकल हुनबाट रोक्ने र क्रिटिकल बनाउने अहिलेको चुनौती हो ।

युवा नेतृत्वको मूल्यांकन, विश्लेषण गर्दा गगन थापा, रामकुमारी झाक्रीलाई हेरेर गरिन्छ । ४० वर्ष उमेर कटेको गगन थापा उमेरले युवा होइन, फेरी म पार्टीकै नेतृत्व पंक्तिमा र सासंद छु । अब युवा नेताको पगरी मैले बोक्ने हाेइन । युवा नेतृत्वको मूल्यांकन युवावयकाले गरेको राजनीति हेरेर गरिनुपर्छ, गगन थापा, रामकुमारी झाक्रीलाई हेरेर होइन । म २३–२४ वर्षमा युवा नेताको रूपमा चिनिन थालेको थिएँ, २० वर्षपछि पनि मलाई नै नौजवान युवा नेताको रूपमा हेर्नु युक्तिसंगत हुँदैन । युवाको आदर्श युवा नै हुनुपर्छ

श्रोत : नयाँ पत्रीका

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured