Uncategorized विचार/ब्लग

सम्झनामा जिरी स्कुल : ढाल बहादुर खड्का (पुर्व सह-सचिब)

म २०३० सालमा पहिलो पटक म आफुले ५ कक्षा सम्म पढेको स्कूलमा शिक्षकको रुपमा प्रवेश गरें | त्यहाँ मलाई कक्षा ८ सम्म पढाउन सक्ने ठानी कक्षा मिलाइएको थियो सायद त्यो बेला कक्षा ८ मा तारा कोइराला,रुद्र खड्का ,सरिता जिरेलहरु भए जस्तो लाग्छ | त्यहाँ शिक्षक भएर मात्र के गर्नु ईन्द्र सरको मारमा परियो | ईन्द्र सर आफै नमूना सर हुनुहुन्थ्यो | स्कूल बनाउन कति हो कति पटक थासिंगखर्क लगायत अन्य क्षेत्र र वनतिरबाट काठ बोकियो ,ढुङ्गा कति बोकियो बेहिसाब श्रम परेको छ | जुन कुरा त्यस बेलाको समाजमा पढैयाबाट गर्न बर्जित जस्तै तर त्यही कर्म गर्नु पर्छ भन्ने हुन्थ्यो उहाको तर्क म लगायत सम्पूर्ण शिक्षकहरुको एउटा टिम थियो प्राय हरेक कार्यहरु टिमवर्कमा हुने गर्दथ्यो | जिरीको बसाइमा मलाई जिन्दगीलाई पुग्ने धेरै कुरा सिकायो ,सिकियो | बिद्रोह गर्न ,संगठन गर्न सिकायो ,पढ्न सिकायो पढाउन सिकायो | वास्तवमा जिन्दगीको परिभाषा सिकायो भन्दा हुन्छ | खाली समय नबस्ने श्रम गरौ वा पढौ भन्ने सिकायो | जिरीले नै सुरुमा मादक पदार्थ सेवन गर्न सिकाएकोमा केही समय पछी अब मादक पदार्थ सेवन गर्न हुन्न भनेर सिकायो तास अब खेल्न हुन्न भनेर पनि सिकायो | सिक्दा सिक्दै जिरीमा करिव दश वर्ष व्यतित गरीयो |
जिरीका विद्यार्थीको नतिजा जिल्लामा अब्बल हुन्थ्यो अनि तत्कालिन प्रशासक आन्दोलनमा जिरी अग्रणी बन्द हड्तालमा जिरी अग्रणी खेलकुदमा जिरी अग्रणी पढाइमा अब्बल थिए, अनि प्रशासन प्रहरी भन्ने गर्थे यहाँका विद्यार्थी कति बेर पढछन् सब अब्बल छन् | वास्तवमा पढाइलाई पनि खुब महत्व दिने गर्थ्यौ | खासमा भन्ने हो भने जब सम्म विद्यार्थी दृष्टिमा हुन्थे हर समय स्कूल जस्तै कडा अनुशासन थियो | बजारमा घुम्न पनि नपाउने कडा नियम थियो | राती १० बजे सम्म होस्टल लगायत बजारमा विद्यार्थी के गर्दै छन पढे नपढेको निगरानी गर्ने र यदाकदा भकुर्ने पनि चलन थियो | त्यसैले जिरी भने पछी हरेकमा अब्बल थियो | त्यसको मुख्य कारण भनेको ईन्द्र सरको नेतृत्वमा शिक्षकको एकता र टिमवोर्क अनुशाशन प्रमुख थियो भन्ने लाग्दछ | जिरी शिक्षाको केन्द्र ,व्यापारको केन्द्र भएकोले राजनीतिको पनि केन्द्र बन्यो | त्यहाँ पंचायत कालमा पनि कांग्रेस कम्युनिष्टको अखडा भन्थे | भिम बहादुर तामांग र ईन्द्र बहादुर खड्का एक एक समूहको नेतृत्व गर्नु हुन्थ्यो | माधव पौड्याल ,ठोक प्रसाद शिवाकोटी ,देवी न्यौपाने पनि समय समयमा देखा पर्नु हुन्थ्यो | जे होस मेरो लागि पनि जिरीबसाई राम्रो भएको थियो | मैले त्यहाँ बस्दा बस्दै आई ए पास गरेको थिए | पछी बि एड पनि त्यही कार्यरत हुँदै गरेर मा बि शिक्षक भै २०३९ सालमा मात्र मैले बिबिध कारणले जिरी छाडेको हुँ | जिरीमा रहँदाको रमाइला घटनाक्रमहरु मध्य केही आगामी दिनमा पस्कने जमर्को गर्दछु |

लेखक उच्च माध्यमिक सिक्षा परिशदको पुर्व सह-सचिब हुनुहुन्छ 

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment