Featured कला र साहित्य देश / राष्ट्रिय पर्या पर्यटन मुख्य समाचार समाचार

ऐतिहासिक सर्वखासा गुम्बाको पुनर्निर्माणमा जुटे स्थानीय

वरिपरी डाँडाले घेरिएको विचमा समथर मैदान, त्यहि मैदानको विचबाट कलकल गर्दै वगिरहेको खोला अनि आसपासमा शेर्पा बस्ति । शान्त, सुन्दर, मनमोहक र छुट्टै पहिचान बोकेको यलुङ उपत्यका । विहानीको घामको झुल्का क्याङसेमा परेसंगै ओम माने पेमाका भाका गुन्जने तथा धुपी अनि सुनपातिको शाङले गाँउ नै मगमग बसाउने जिरी नगरपालिका वडा नं. २ स्थित यस शेर्पा बस्ति प्राकृतिक सुन्दरताको हिसावले मात्र नभई धार्मिक र साँस्कृतिक हिसावले समेत विशिष्टिकृत छ ।

यलुङ उपत्यकाको शिरको रुपमा रहेको क्याङसे पोखरी कै केहि तल पाखामा एउटा सुन्दर बस्ति छ सर्वखासा । वस्तिको विचमा करिव ७०० वर्ष पुरानो गुम्बा रहेको छ । उक्त गुम्बाभित्र पुर्ण कदमा विराजमान फावाचेरेन्जीको विशाल मुर्ति । वि.सं. १३७२ देखि १३७४ वीचको २ वर्षको अवधिमा निर्माण सम्पन्न भएको विश्वास गरिएको उक्त गुम्बा यलुङ गाँउको धार्मिक आस्थाको केन्द्र मानिन्छ । स्थानीयहरुमा उक्त गुम्बा प्रति यति गहिरो विश्वास छ कि गाँउका मानिसहरु परदेश जाँदा जब गाँउको अन्तिम दृष्य आँखाबाट ओझेल पर्ने विन्दु कम्से डाँडामा पुग्छन्, तव फेरी यो गाँउमा पाईला टेक्न पाउँ भन्ने मनोकामनाका साथ फावाचेरेन्जीलाई सम्झदै तीन पटक ढोगेर मात्र पाईला चाल्ने गर्दछन् । परदेशमा रहुन्जेल आफ्नो अनि परिवारको सुस्वास्थ्य र दिर्घायुको लागि सधै पुजापाठ गर्ने गर्दछन् र परदेशबाट फर्केपछि फावाचेरेन्जीलाई हातको चिनो स्वरुप केही मीटर नयाँ कपडा सहित गुम्बामा बत्ती बाल्न पुग्दछन् ।

फावाचेरेन्जीको मुर्ती

यलुङ गाँउसंग जोडिएको धर्म संस्कृति अनि इतिहासको हरेक तथ्यहरु यस गुम्बासंग जोडिएका छन् । छेच्यु, सकदावा, टुक्पा छेच्यी, ल्हपप थुचेन, देसिछ्योपा आदि मुख्य धार्मिक पूजापाठ र पर्वहरुको निरन्तरता र संरक्षणमा यस गुम्बाको ठुलो सम्वन्ध र योगदान रहेको छ जुन पर्वहरु यलुङको मुख्य पहिचानको रुपमा स्थापित भएको छ ।

भुकम्पले धवस्त सर्वखासा गुम्बा

धार्मिक तथा पौराणिक हिसावले निकै महत्व बोकेको सर्वखासा गुम्बा र फावाचेरेन्जीको मुर्ती २०७२ सालको विनासकारी महाभुकम्पले पुर्णरुपमा ध्वस्त बनायो । पुननिर्माणका लागि विभिन्न संघसंस्था एवं सरकारी तथा गैरसरकारी निकायहरुमा बारम्बार सहयोगको लागि अनुरोध गर्दा पनि सफलता हात नलागेपछि अहिले स्थानीयबासीहरु आफै पुनर्निर्माण गर्ने अठोटका साथ सहयोग रकम संकलन गर्ने अभियानमा लागिपरेका छन् । विशेष गरी विदेशमा रहेका यलुङबासीहरुबाट उल्लेख्य रुपमा सहयोग रकम प्राप्त भईरहेकोले छिट्टै नै पुनर्निर्माण कार्य सुरु गरिने स्थानीय अभियान्ता साङठु शेर्पाको विचार छ । करिव ५० लाख भयो भने भुकम्प प्रतिरोधी तर पुरानै शैलिको गुम्बा पुनर्निर्माण गर्न सकिने उनको अनुमान छ । स्थानीयहरुले उत्साहजनक रुपमा सहयोग गरिरहँदा स्थानीय सरकार एवं सम्वन्धित संघसंस्थाहरुको कुनै सहयोग नरहनुमा भने उनको मन दुखेको छ । सामाजिक संजालमार्फत आक्रोश व्यक्त गर्दै आफ्नो आस्थाको धरोहर अव आफ्नै बलबुताले निर्माण गरिछाड्ने दृढ संकल्प यलुङबासी सवैले लिनुपर्ने अपिल समेत गरेका छन् ।

भुकम्पले क्षतिवक्षत भएकाे फावाचेरेन्जीको मुर्ती

गुम्बा पुनर्निर्माणका लागि हालसम्म ३६ जना यलुङबासी सहयोगदाताबाट करिव १९ लाख रुपैयाँ रकम संकलन भईसकेको छ भने सहयोग आउने क्रम अझै जारी छ । प्राप्त सहयोगलाई सामाजिक संजाल फेसबुक https://www.facebook.com/groups/651558022361942/मार्फत अप्डेट गरिएको छ । साथै सहयोग गर्न चहानेहरुको लागि सर्वखासा गुम्बा गुठी संस्थाको नाममा प्राईम कर्मशियल बैंक जिरीमा रहेको खाता नं.00800256CA मा रकम जम्मा गर्न सकिने उल्लेख गरिएको छ ।

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured