जिरी, ५ मंसिर । पर्यटकीय नगरी जिरीमा जारी जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगितामा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता कायम गरेका छन् । शतप्रतिशत नतिजा निकालेका बद्रीलालले शुक्रबार सम्पन्न तेश्रो चरणको खेलमा सर्लाहीका रविन्द्र बहादुर थापालाई पराजित गरे भने चौथो तथा पाँचौं चरणमा दोलखाका राजिव कार्की तथा सहदेव चौंलागाईमाथि जित हात पारे । पाँच चरणको खेल पश्चात पाँच अंक बनाएका बद्रीलालले शनिबार हुने छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुँयालको सामना गर्नेछन् ।
युवा संजाल जिरीको आयोजना तथा जिरी नगरपालीकाको सहयोमा जारी प्रतियोगिताको पाँचौं चरणको खेल बराबरीमा टुंग्याएका दोलखाका आशिष फुँयाल तथा ललितपुरका हेराकाजी मर्हजन समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् । यसअघि आशिषले तेश्रो तथा चौथो चरणमा क्रमशः ललितपुरका संजय महर्जन र स्याङ्जाका युवराज पौडेललाई हराएभने हेराकाजीले तेश्रो चरणमा रामेछापका दिल बहादुर सुनुवार तथा चौथो चरणमा गोरखाका गेहेन्द्र आचार्यमाथि जीत हात पार्न सफल रहे । पाँचौ चरणको खेल पश्चात युवराज पौडेल, राजीव कार्की, रविन्द्र बहादुर थापा र संजय महर्जनले समान ४—४ अंक बनाएका छन् ।
त्यस्तै रौतहटका रामचन्द्र दाहाल, रामेछापका दिल बहादुर सुनुवार, दोलखाका सहदेव चौंलागाईं, केवल खत्री, दिपक बस्नेत, ग्यालजेन शेर्पा, मधुकुमार श्रेष्ठ, धर्मानन्द दाहाल, डेन्डु शेर्पा, विवेक कार्की तथा संजय सुनुवार समान ३—३ अंक बनाउन सफल भए । त्यसैगरी दोलखाका केन्द्रज्योती खड्का, बाबुराजा श्रेष्ठ समान २ दशमलब ५ अंकमा रहेका छन् । फिडेको स्विस लिग प्रणाली अनुसार सात चरणमा सम्पन्न हुने प्रतियोगितामा १० रेटेड सहित कुल ४२ जना खेलाडीको सहभागीता रहेको छ । प्रतियोगिता अन्र्तगत शनिबार छैटौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।
Add Comment