Featured देश / राष्ट्रिय फोटो फिचर मुख्य समाचार शिक्षा समाचार

लकडाउनमा सहिद स्मृति माविका शिक्षक कर्मचारीद्वारा भवन निर्माण तथा रङरोगन

जिरी नगरपालिका स्थित श्री सहिद स्मृति आवासीय माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले लकडाउनको अवधिमा २ वटा नयाँ भवन निर्माण गर्नुका साथै रङरोगन एवं सडक सोलिङ तथा ढलानको काम सम्पन्न गरेका छन् ।

नेपाल सरकारले गएको श्रावण १ गतेदेखि विद्यालय संचालन गर्ने निर्देशन दिएपछि विद्यालय आएका शिक्षक कमर्चारीहरु त्यसपछि पनि पढाई नभएपछि निर्माणकार्यमा लागेका हुन । श्रावण र भाद्र गरि करिव २ महिना सम्म २४ जना शिक्षक तथा कर्मचारीहरुले नियमित विहान ६ बजेदेखि बेलुकी ६ वजेसम्म अनवरत काममा खटेका थिए ।

नेपाल सरकारबाट विद्यालयलाई गएको आर्थिक वर्ष २०७६÷७७ मा प्राप्त रु २ करोड अनुदान रकम मध्ये चैत्र महिना देखि कोरोना भाईरस (कोभिड १९) माहामारीका कारण देशमा लकडाउन भएका कारण चैत्र देखि असार सम्मको ४ महिनाको रकम तलवभत्ता बाहेक अन्य शिर्षकमा खर्च नभएपछि करिव २० लाख रुपैयाँ विद्यालयको बचेको थियो । त्यसैगरि यो आर्थिक वर्षको कार्तिक सम्म पनि विद्यालयमा पढाई नभएपछि यो बर्षको बजेट बाट समेत रु १० लाग विनियोजन गरि विद्यालयमा भवन लगायत विभिन्न भौतिक पूर्वाधार निर्माण र रङरोगनको कार्य सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक हिराराज दहालले बताउनुभयो ।

गत बर्षको २० लाख र यो वर्षको १० लाख गरि कुल ३० लाख खर्च गरि निर्माण गरिएको संरचनाहरुमा छात्र छात्रावासमा २ ओटा हल सहित ३ ओटा आधुनिक ट्वाइलेट बाथरुम सहितको तेश्रो तल्ला, व्यवस्थित डाईनिङ हल, स्टाफ क्वाटर पार्टेसन, छात्र छात्रावास रङरोगन, स्टाफ क्वाटर रङरोगन, कपडा सुकाउने प्यासेज निर्माण, छात्र÷छात्रा छात्राबासमा पिलर सहित तारजाली निर्माण र विद्यालय हातभित्र ३० मिटर सोलिङ सहितको आर.सि.सि ढलान गरिएको छ ।

निर्माणकार्य तथा रङरोगनका लागि सिमित संख्यामा मात्र दक्ष मिस्त्री लगाईएको र बाँकी सवै काम विद्यालयका शिक्षक तथा कर्मचारीकोे श्रमदानबाट सम्पन्न गरिएको प्रधानाध्यापक दहालले बताउनुभयो । यस्तो प्रकारको शारिरीक श्रम गर्नेपर्ने बाध्यता थिएन र विद्यालयले गर्नेपर्छ भनेको पनि थिएन यद्यपी विद्यालयको लागि उहाँहरु दिनरात नभनी विहान झिसमिसेदेखि बेलुका आँखा देखुन्जेल कुनै दुःख कष्ट नभनी खट्नुभयो । उहाँहरुको यस योगदानलाई विद्यालयले उच्च मुल्याङकन गरेको र भविष्यमा विद्यालयले पनि उहाँहरुलाई सक्ने सहयोग गर्ने प्रधानाध्यापकको भनाई छ ।

निर्माण सामाग्री र केहि दक्ष मिस्त्रीहरुको ज्याला गरि रु ३० लाख खर्च भएतानि यदि शिक्षक कर्मचारीहरुको २ महिनाको नियमित ज्याला जोड्ने हो भने करिव ४५ लाख बराबारको काम भएको विद्यालय प्रशासनको दावी छ । त्यसरी हेर्ने हो भने करिव १५ लाख बराबर विद्यालयको खर्च हुने ज्याला उनिहरुले बचाएका छन् । अधिकाँस सरकारी विद्यालयहरुका शिक्षकहरु कामै नगरी घरमै बसेर तलवभत्ता खाएका भन्ने आम मानिसको लान्छानालाई चुनौति दिएका छन् सहिद स्मृति आवासिय माविका शिक्षक कर्मचारीले । शिक्षकहरु पढाउन मात्र हैन परि आए जस्तो सुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उहाँहरुको यस सराहणीय कार्यलाई हामी सबैको नमन ।

Tags

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment

Featured