Uncategorized देश / राष्ट्रिय फोटो फिचर समाचार स्वास्थ्य

इलाका प्रहरी कार्यालय जिरीद्वारा बजारक्षेत्रमा मास्क वितरण

इलाका प्रहरी कार्यालय जिरीले लिङ्कन बजार क्षेत्रमा कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरण सचेतना कार्यक्रम अन्तरगत मास्क वितरण गरेको छ ।
आज बेलुकी ४ बजेदेखि ५ बजेसम्म करिव १ घण्टा बजार क्षेत्रमा प्रहरी टिमले सचेतना अभियान स्वरुप सांकेतिक रुपमा करिव २०० मास्क वितरण गरेको छ । बजारक्षेत्रमा आवतजावत गर्ने करिव १ दर्जन सवारी साधनमा मास्क लगाएको नलगाएको चेक गरि नलगाउने चालक तथा यात्रुहरुलाई लगाउन अनुरोध गरेको छ । त्यस्तै मास्क नलगाई हिड्ने करिव १०० जना पैदलयात्रु तथा होटल एवं पसल संचालक र ग्राहकहरुलाई मास्क वितरण गरि कोभिड–१९ को जोखिम बारे सचेत गराएको छ । साथै अनिवार्य मास्क तथा स्यानीटाईजरको प्रयोग गर्ने, एक अर्का विच न्यूनतम भौतिक दुरी कायम गर्ने र अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन माइकिङ मार्फत ईलाका प्रहरी कार्यालयले जिरीबासीमा अनुरोध गरेको छ ।

प्रत्येक व्यक्ति आफै सचेत भएमा मात्र यसको जोखिमवाट बच्न सकिने भएकोले जनचेतना जगाउने उदेश्यले सचेतना कार्यक्रम संचालन गरेको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक बिष्णु बहादुर खड्काले बताउनु भयो । आजको कार्यक्रम साँकेतिक मात्र भएको तर यसले आगामी दिनमा मानिसहरुलाई कोभिडको जोखिमबाट बच्न मास्क लगाउनु पर्छ भन्ने सकारात्मक सन्देश गएकोे उहाँको भनाई छ ।

पछिल्लो समय विश्वव्यापी रुपमा कोरोना भाईरस संक्रमणको दोश्रो चरण ह्वात्तै बढेसंगै नेपालमा पनि संक्रमण दर दिनानुदिन बढ्दै गईरहेको छ । संक्रमण जोखिमलाई मध्यनजर गर्दै गत सोमबार मात्र नेपाल सरकारले अनावश्यक भिडभाड नर्गन, २५ जना भन्दा वढि एकै स्थानमा जम्मा नहुन, विद्यालय तथा शैक्षिक संस्थाहरुमा भौतिक उपस्थिति हुनेगरि पठनपाठन नर्गन तथा जोखिमका आधारमा लकडाउन गर्न निर्देशन गरेको छ । यद्यपी जिरी नगरपालिका सहित दोलखा जिल्लाका विद्यालयमा भने सरकारको निर्देशन विपरित भौतिक उपस्थितिमा नै पठनपाठन भईरहेको छ ।