Featured Uncategorized देश / राष्ट्रिय मुख्य समाचार समाचार स्वास्थ्य

युवा संजाल जिरीद्वारा कोभिड संक्रमण बारे नगरपालिकाको ध्यानाकार्षण

बैशाख २२ । जिरी

जिरी नगरपालिकामा कोरोना संक्रमितको संख्या वढ्दै गएपछि युवा संजाल जिरीले जिरी आज नगरपालिकाको ध्यानाकार्षण गराएको छ ।
जिरी अस्पतालले गत सोमबार ३६ जनाको स्वाव संकलन गरि कोभिड संक्रमण परिक्षणको लागि धुलिखेल पठाएकोमा जिल्ला समन्वय समितिका उपप्रमुख, जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १६ जनाको रिर्पोट पोजिटिभ आएपछि अवस्था जटिल भएको भन्दै संजालले नगरपालिकाको ध्यान आकर्षण गराएको हो । संजालका प्रतिनिधिहरुको उपस्थितिमा अध्यक्ष केन्द्रज्योति खड्काले नगरप्रमुख टंक जिरेललाई ध्यानआकर्षण पत्र हस्तान्तरण गरेका छन् । जिरी नगरपालिकामा कोभिड–१९ संक्रमणले जटिल मोड लिएको भन्दै यसको रोकथाम र व्यवस्थापनका लागि प्रमुख ५ ओटा विषयहरुमा नगरपालिकाले ठोस कदम चाल्नुपर्ने ंसंजालले जनाएको छ । तत्काल कोरोना संक्रमण जोखिम न्यूनिकरणका उपायहरु अवलम्वन गर्नुपर्ने, जताभावी तथा अनावश्यक हिडडुलमा रोक लगाउनुपर्ने, संक्रमितहरुको जिरी अस्पतालमा नै सहज र सुलभ उपचार गर्नुपर्ने, एम्बुलेन्सलाई चुस्त दुरुस्त अवस्थामा राख्नुपर्ने, पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने, बजारक्षेत्रमा साबुनपानी, स्यानीटाईजर सहितको हेल्प डेस्क स्थापना गर्नुपर्ने लगायतका विषयमा संजालले नगरपालिकाको ध्यानाकर्षण गरेको छ ।

ध्यानाकषर्ण पत्र बुझदै नगर प्रमुख टंक जिरेलले संजालको मागप्रति आफु सकारत्मक रहेको बताउनुभयो । कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि आफु रातदिन नभनि खटिरहेको र यसको व्यवस्थापनको लागि नगरपालिका सक्षम रहेको जानकारी दिनुभयो । जिरी अस्पतालमा पिपिई, मास्क, स्यानीटाईजर, अक्सिजन सहितको सिलिन्डर लगायतका सामाग्रीहरु पर्याप्त मात्रामा रहेको साथै स्वास्थ्यकर्मी एवं एम्बुलेन्स पनि स्ट्याण्ड बाई अवस्थामा रहेकाले कोहिपनि नआत्तिन उहाँले अनुरोध गर्नुभएको छ । जिरी अस्पतालले केहि थान अक्सिजन सिलिन्डर चरिकोट पठाईएको बारे संजालले जिज्ञासा राख्दा उहाँले अस्पताल संग अझैपनि पर्याप्त रहेको बताउनुभयो । जिरी अस्पतालसंग अहिले पनि १७ ओटा विद्युतिय अक्सिजन सिलिन्डर, १५ ओटा ठुलो खालको अक्सिजन भरिएको सिलिन्डर र ७ वटा खालि सिलिन्डर गरि २९ वटा रहेकोले अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने भन्ने सङ्का नर्गन अनुरोध गर्नुभएको छ । आपत परेको बेला सवैले सवैलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताको आधारमा मात्र केहि थान सिलिण्डर चरिकोट पठाईएको उहाँको भनाई छ । संक्रमण जोखिम नियन्त्रण र व्यवस्थापनका लागि नगरले डाक्टर सहितको ३ समुह बनाएको र रुटिन अनुसार टोलीले काम गरिरहेको उहाँको भनाई छ । साथै वडा नं.१ स्यामा र वडा नंं ९ ठुलोपातमा समेत अक्सिजन सहितको आईसोलेसन एवं स्वास्थ्यकर्मीहरु रहेको उहाँले बताउनुभयो । यति हुँदाहुदै पनि धेरैजना संक्रमित भएमा एकैपटक आईसोलेसनमा राख्न भने पर्याप्त बेड नरहेको उहाँको भनाई छ । जर्मन सरकारको सहयोगमा निर्माणाधिन अवस्थामा रहेको भवन हस्तान्तरण अघि प्रयोग गर्न नमिल्ने अवस्था साथै स्वीस सरकारले निर्माण गरिदिएको पुरानो भवन समेत हाल डिजाईन परिवर्तनको क्रममा रहेकोले भनेजति आईसोलेसन बेड तयार गर्न नसकिएको उहाँको भनाई छ । हाल जिरी अस्पतालमा ४ ओटामात्र आईसोलेसन बेड रहेको छ भने यो समाचार तयार गर्दा सम्म एउटा मात्र खालि रहेको छ । आईसोलेसन बेडकै अभावका कारण संक्रमित १६ जना नै हाल होम आईसोलेसनमा रहेको नगरप्रमुखले जानकारी दिनुभयो ।

संजालका अध्यक्ष केन्द्रज्योति खड्काले स्थानीयबासीको स्वास्थ्यलाई ख्याल गर्दै नगरपालिका लगायत मातहातका निकाय यवं जिरी स्थित संघसंस्थाहरुले संक्रमण जोखिम न्यूनिकरणका लागि व्यापक जनचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्ने वताउनुभयो । उहाँले नगरपालिकमा कोभिड जोखिम न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रमहरु प्रयाप्त नभएको भन्दै यसका लागि सवै सरोकारवाला निकायहरुले हातमा हात साथमा साथ मिलाउँदै व्यापक अभियान नै संचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो साथै युवा संजाल जिरी यसका लागि सदैव तत्पर रहेको समेत बताउनुभयो ।

जिरी लगायत दोलखा जिल्लामा नै कोरोना भाईरस संक्रमितहरुको संख्या बढेपछि आजै बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुसार आज राति १२ बजेबाट बैशाख मसान्तसम्मको लागि निशेधाज्ञा जारी गरिसकेको छ ।