Featured देश / राष्ट्रिय मुख्य समाचार समाचार

जेष्ठ नागरिकलाई भत्ता लिनै सास्ती – ६ बजे देखि बैकमा लाईन

तेन्जिङ शेर्पा/चोर्दोङ
बैतेश्वर, ११ साउन । नेपाल सरकारले जेष्ठ नागरिक , एकल महिला र अपांग नागरिकहरुको लागि उपलब्ध गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिन ठूलो सास्ती बेहोर्नु परेको छ । पछिल्लो समय नेपाल सरकारले सबै जेस्ठ नागरिक , एकल महिला , अपांग र ६० वर्ष माथिका सबै दलितहरुको लागि मासिक रुममा उपलब्ध गर्दै आएको जिवन निर्बाह भत्तालाई बैक मार्फत उपलब्ध गर्ने निर्णय बमोजिम बैतेस्वर गाउँ पालिका लगायत जिल्लाका सबै स्थानीय तहका नागरिकहरुलाई भत्ता लिन ठूलो सकस परेको हो ।

यी समुहका नागरिकहरु भत्ता लिनकै लागि टाढा टाढा देखि बलेरो रिजर्भ गरेर बैक सम्म आउने गरेका छन भने बलेरो भाडा मात्र एक जना बराबर ८००!- सम्म तिर्ने गरेको गुनासो पाईन्छ । उनिहरु भत्ता लिनको लागि बिहान ६ बजे देखि नै बैकमा लाईन बस्ने गरेका छन । बैतेस्वर गाउँपालिका वडा नं १ गैरिमुदिका वर्ष ७८ का लक्षु तामाङ आफू बलेरो भाडा मात्रै ७००।- तिरेर आएको र बिहान चिया पनि नखाई ७ बजे देखि बैकमा लाईन बसेको बताउँछन । पहिले पहिले वडा वडामा वडा सचिवले घर घरमा भत्ता ल्याई दिने गरेको तर अहिले धेरै पाएको दु:खेसो पोख्छन् उनि ।

जिरी नपा ९ सल्लेका माला तामाङ आफुलाई भत्ता लिन जिरी लिन्कन बजार टाढा भएकोले मैनापोखरी स्थित प्राइम बैकमा बलेरो भाडा मात्र ९००।- तिरेर आएको बताउँछिन । त्यस्तै भत्ता लिनकै लागि बिहान ४:३० बजे घर बाट आएको र बैकमा चिया पनि नखाई ६:३० बजे देखि लाईन बसेको गुनासो बैतस्वर गापा २ वर्ष ७९ का भत्त राज श्रेष्ठले बताए । बिहान जसो तसो आए पनि बेलुकी घर पुग्नै कठिन परेको अधिकांस बिरामी तथा अशक्त अपांग बृद्ध हरु बताउछँन र कम्तिमा वडा सम्म ल्याई दिने वातावरण बनाई दिन स्थानीय तह र नेपाल सरकार सँग अनुरोध गरेकाछन । बैतेस्वर गाउँपालिका बाट मात्रै सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २५०० जना माथी भएको र जिरी नपा वडा नं ७,८ र ९ का केही मानिसहरु पनि नजिकको हिसाबले मैनापोखरी बैकमा आउने गरेको र यस बैकबाट दैनिक १६० जना भन्दा बढिलाई बैकले भत्ता उपलब्ध गर्दै आएको सके सम्म अत्यन्तै सरल सहज र छिट्टो तरिकाबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गर्दै आएको कुरा प्राईम कमर्शियल बैक वैतेस्वर शाखाका प्रबन्धक पुर्सोत्तम सुबेदीले बताउनु भयो । जेस्ठ नागरिक एकै पटक भत्ता लिन आउने गरेकोले समेत ठूलो लाईन भएको र बैक सम्म आउन नसक्नेलाई वडामा नै बैकका कर्मचारी गएर बितरण गर्ने गरेको र अशक्त , रोगी , अपांगलाई वडा कार्यलयको सिफारिसमा नजिककको हकवालालाई वितरण गर्ने गरेको समेत जानकारी सुबेदिले दिनु भयो ।

बैक प्रणालीमा गई सके पछि भत्ता लिनकै लागि चेक काटेर अरु आफन्त पठाउदा पनि त पाउनु हुन्थ्यो ? भने प्रश्न गर्दा कतिपय वृद्ध वृद्धाहरुले त्यसरी पठाउदा सो रकम बाटोमा नै खाई दिने र आफुलाई पूरा नदिने समेत बताए । जेष्ठ नागरिकले धेरै सास्ती पाएको विषयमा वैतेस्वर गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्यलाई प्रश्न गर्दा नेपाल सरकारको नीति अनुसार नै यस पालिकाले पनि बैक मार्फत भत्ता उपलब्ध गर्ने निर्णय गरेको र हाल भत्ता लिने जेस्ठ तथा अपांग नागरिकहरुको लागि घर बाट बैक धेरै टाढा भएकोले खास गरि भत्ता लिन आउन समस्या भएको गुनासो पालिकामा समेत आएकोले आगामी दिन कसरी सहज तवरबाट भत्ता दिन सकिन्छ भन्ने बारे पालिकामा छलफल भै राखेकोले आगामी कार्यपालिकाको वैठकमा निर्णय गर्ने बताउनु भयो । जेस्ठ नागरिक र अपांगहरुले सरल तरिकाबाट भत्ता लिने वातावरण बनाई दिन बैकको ठूलो लाईन बस्ने झन्झटबाट सहज बनाई दिन अनुरोध गरेका छन ।

About the author

Gautam Jirel

Gautam Jirel is editor of chyordong.com

Add Comment

Click here to post a comment