Featured Uncategorized मुख्य समाचार राजनीति विचार/ब्लग

“कम्युनिस्ट नेता” : “ह्यान्डसम डमी”

बिरोध तमाङ / च्योर्दोङ

पन्चायतकालिन पार्टी संरचनाले अब कुनै पनि राजनीतिक दल बाँच्न सक्दैन। पन्चायतकालमा राजनीतिक दलहरु प्रतिबन्धित थिए। खुला समाजमा गएर राजनीतिक भेला, जागरण र चेतनाका गतिविधिहरु गर्न पाईदैन’थ्यो। सोही अनुरुप नै पार्टी संरचना निर्माण गरिन्थे ताकि कुनै गतिविधिहरु प्रशासनले थाहा नपाउन्। बैठकहरु धेरै नै गोप्य हुन्थे, राजनीतिक गतिविधिहरु गर्न कार्यकर्ताहरुमा छुट्टै प्रकारको उर्जा हुन्थ्यो। पैसाको महत्त्व कम तर आत्मीयता, सरलता र पारस्परिक विश्वासको महत्त्व ज्यादा हुन्थ्यो। आम-सन्चारको माध्यम ठप्प रहेको त्यो समयमा संगठन विस्तार गर्न ठूलो चुनौती थियो। राम्रा हुन् वा नराम्रा हुन्, सबै प्रकारका पार्टी गतिविधिले व्यापकता पाउन धेरै समय लाग्थ्यो।

तर अहिले शासन व्यवस्था फेरिएको छ। हामी खुला लोकतान्त्रिक राजनीतिमा छौं। राम्रा काम गरेमा कुनै राजनीतिक दलले संगठन विस्तार गरिरहनुपर्दैन। आफ्ना कामको विज्ञापन गर्न प्रशस्त प्ल्याट-फर्महरु छन्। तसर्थ लोकतन्त्रमा राजनीतिक दल बाँच्न राजनीतिक दललाई प्रतिनिधित्व गर्दै सार्वजनिक पदमा आसिनहरुले पार्टी विधानको परिधिभित्र रहेर जनमुखी र लोकप्रिय काम गर्नुपर्छ। पार्टीको ‘गुड-विल’ वृद्धि गर्न जनताप्रति पारदर्शी र जवाफदेही भएर आफ्ना कामकारबाही गर्नुपर्छ। हरेक समय आफुलाई जनताको अदालतमा उभ्याउने हिम्मत गर्नुपर्छ। तर हामी जोकोही त्यसो गर्दैनौं। पदमा हुँदा हामीलाई पार्टीको विधान भन्दा आफ्नै परिवार, नाता, छिमेकी र नश्ल प्यारो लाग्छ। क्षमतावान कार्यकर्ताहरु भन्दा चाकरीवालाले बजाएको ताली सुन्न हामी मरिहत्ते गर्छौं। हामीलाई जसरी पनि पैसा कमाउनुछ किनकि हार्नको लागि पनि पैसा खर्च गर्नुपर्ने चुनावी प्रणालीमा छौँ हामी। हामीलाई आलोचना प्रती तीब्र नफरत छ। हामीलाई फरक मत प्रती घृणा छ। अनि फेरि कार्यकर्ता भेला वा बैठकमा मुख्य अतिथि वा अतिथिको हैसियतमा ड्यासमा उभिदै कार्यकर्ता तिर औंला तेर्स्याउदै भाषण गर्दै हामी लाज पचाएर प्रश्न गर्छौ, “पार्टी संगठन किन बिग्र्यो कामरेडहरु हो? तपाईहरु तिघ्रा नकमाउनुस! सुकुलगुण्डाहरुलाई तह लगाउन हामी युथ फोर्स गठन गर्दैछौँ। कम्युनिस्टहरुको उर्वर भुमिमा नै हामी किन हार्यौँ? तपाईहरु किन खट्नुहुन्न?”

आफ्ना सन्तानलाई उच्च शिक्षाको लागि विदेश पठाएर सोझा-साझा जनताका छोराहरुलाई चुनावमा भिड्नको लागि आह्वान नगर्नुस महोदय। नेपालको चुनावी माहोल तपाईलाई सहि लाग्छ भने चुनाव ताका पार्टी तर्फबाट ‘बुथ एजेन्ट’ बनाउन छोरालाई युरोपबाट झिकाउनुस। अनि युवाहरुलाई वैदेशिक रोजगारीको लागि खाँडी पठाउन तपाईले खोलिएको म्यान-पावर बन्द गर्नुस। पार्टीको झण्डामुनि बसेर सार्वजनिक पदमा आसिन हुँदा विकास र समृद्धिको नाममा सिन्का नभाच्ने तपाई, चरम भ्रस्टाचार र अनियमितता काण्डमा मुछिने तपाई, बर्थ-डे केक पनि कुनै दलाल ब्यापारीले प्रायोजन गरिदिनुपर्ने तपाईलाई, अनि बन्छ त पार्टी संगठन?

अन्त्यमा, यो पन्चायतकालिन समय होइन जहाँ पार्टी संगठन विस्तार नहुनुको दोष तल्लो कमिटीमा काम गर्ने पार्टी – क्याडरले बोक्नुपर्छ। कृषि लोन मिलाइ दिए बापत पार्टी कार्यकर्ताले एकमुष्ट २०% दिनुपर्ने तपाईलाई, ५ लाखको उपभोक्ता समितिमा अध्यक्ष बसे बापत एकमुष्ट रकम दिनुपर्ने तपाईलाई? हुँदा हुँदा कतै जागिर मिलाईदिए बापत मासिक दस हजार दिनुपर्ने तपाईलाई? अनि तपाई कम्युनिस्ट नेता? तपाईलाई नेता मान्नुपर्ने? खासमा तपाई एक दलाल हो! मान्छेको आत्मा बोकेर स्वार्थको नाफाको बार्गेनिङ गर्ने एक अनैतिक विचौलिया हो तपाई! सच्चा कम्युनिस्टसंग सिधा आँखा हेर्न नसक्ने भ्रष्ट कम्युनिस्ट हो तपाई! असल कार्यकर्ताको अघि शीर निहुराउनुपर्ने पतित नेता हो तपाई! हुर्किएको सन्तानसंग सवाल जवाफ गर्न नसक्ने आवारा पिता हो तपाई! अनि श्रीमतीसंग मंगलसुत्रको मुल्य माग्न नसक्ने कुनै परस्त्रीको ग्राहक हो तपाई! थुइक्क “ह्यान्डसम डमी”!!!

 

About the author

Kendra Jyoti Khadka

Add Comment

Click here to post a comment