Featured Uncategorized देश / राष्ट्रिय विज्ञान-प्रबिधि शिक्षा समाचार

जिरी माविका विपन्न विद्यार्थीलाई मोबाइल फोन वितरण

श्रावण २८, जिरी

जिरी माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई स्मार्ट मोबाइल फोन वितरण गरिएको छ ।

फोकस नेपाल जिरीको सहयोगमा जिरी माध्यमिक विद्यालयले कमजोर आर्थिक अवस्थाका कारण मोबाइल किन्न नसकेर अनलाईन कक्षाबाट बन्चित हुन पुगेका २० जना विद्यार्थीहरुलाई स्मार्ट मोबाइल फोन वितरण गरेको हो । विद्यालयको सभाहलमा आयोजित कार्यक्रमबिच विद्यार्थीलाई जिरी नगरपालिकाका नगरप्रमुख श्री टंकबहादुर जिरेल तथा संस्थाका अध्यक्ष श्री राजेश खडकाले मोबाइल फोन वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुखले जिरी माध्यमिक विद्यालयमा नगरपालिकाको सहयोगमा फ्रि वाइफाइका लागि डिभाइस जोडिइसकेको तथा विद्यालयले समेत शिक्षकहरुलाई ल्यापटप वितरण गरिसकेकाले मोबाइल अभावकै कारण अनलाइन कक्षामा जोडिन नसकेका विद्यार्थीहरुलाई अत्यन्त लाभदायी हुने बताउनुभयो ।

अनलाइन कक्षामा जोडिन नसकेका विपन्न विद्यार्थीहरुको अवस्था देखेर शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले मोबाइल वितरण गरेको कुरा संस्थाका अध्यक्ष राजेश खडकाले बताउनुभयो ।

कार्यक्रममा नगरशिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाल लगायत ब्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण जिरी माविका प्रधानाध्यापक केशवकुमार कार्कीले गर्नुभएको थियो ।

कोभिड १९ का कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकेपछि २०७८ असार २० गतेदेखि विद्यालयले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।